काठमाडौँ । एलोन मस्कको स्पेसएक्सले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को योजना सार्वजनिक गर्दै आफ्नो वित्तीय अवस्था र नेतृत्व संरचनासम्बन्धी विस्तृत विवरण बाहिर ल्याएको छ।
सीएनएनको रिपोर्टअनुसार कम्पनीले यसअघि गोप्य रहेका सञ्चालक समिति, आम्दानी, नाफा–नोक्सान, खर्च तथा व्यावसायिक मोडेलका विवरणहरू पहिलो पटक सार्वजनिक गरेको हो। कम्पनीले आईपीओबाट उठाउने रकम र मूल्याङ्कन भने खुलाएको छैन, जसको घोषणा सेयर निष्कासनअघि गरिने बताइएको छ। स्पेसएक्सले आफ्नो विवरणपत्रमा जीवनलाई बहुग्रहीय बनाउने, ब्रह्माण्डको अध्ययन विस्तार गर्ने र अन्तरिक्ष प्रविधिमा ठूलो प्रगति गर्ने महत्त्वाकांक्षी लक्ष्य प्रस्तुत गरेको छ।
कम्पनीले स्टारलिंक सञ्जाल विस्तार, भू–उपग्रह उत्पादन वृद्धि र कृत्रिम बुद्धिमत्ता (एआई) विकासलाई प्राथमिकतामा राखेको छ। कम्पनीको लक्ष्य चन्द्रमामा आधार शिविर स्थापना गर्ने र भविष्यमा अन्य ग्रहहरूमा मानव बस्ती बसाउने रहेको छ। वित्तीय विवरणअनुसार स्पेसएक्सको आम्दानी बढ्दै गए पनि कम्पनी अझै नाफामा पुगेको छैन। पछिल्ला वर्षहरूमा ठूलो मात्रामा खर्च र घाटा देखिएको छ, विशेषगरी एआई, स्टारलिंक र रकेट परियोजनामा भारी लगानी गरिएको छ। यति ठूलो घाटाका बाबजुद कम्पनीले भविष्यमा विशाल बजार अवसर रहेको दाबी गर्दै दीर्घकालीन रूपमा नाफामा जाने अपेक्षा गरेको छ।