काठमाडौँ । नेपाली कांग्रेसका सांसद निश्कल राईले सरकार संसदप्रति उत्तरदायी बन्न नसकेको आरोप लगाएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पछिल्ला बैठकहरूमा पनि सरकारलाई जवाफदेही बनाउन प्रयास भए पनि प्रभावकारी नतिजा नआएको बताए।
उनका अनुसार नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीलाई उपस्थित गराउन पटक–पटक माग गरिए पनि सभामुख र सरकारले त्यसलाई गम्भीर रूपमा नलिएको उनले दाबी गरे। राईले अन्य प्रतिपक्षी दलहरूले पनि सरकारको जवाफदेहिता माग गर्दै सदनभित्र विरोध प्रदर्शन गरिरहेको उल्लेख गरे। सभामुखले त्यसलाई अमर्यादित भनेकोप्रति आपत्ति जनाउँदै उनले विगतमा सत्तारूढ दल प्रतिपक्षमा हुँदा पनि यस्तै प्रकारका गतिविधि गरेको स्मरण गराए। उनले अहिलेको विरोधलाई मात्र अमर्यादित भन्ने र विगतका गतिविधिलाई स्वीकार गर्ने प्रवृत्ति दोहोरो मापदण्ड भएको टिप्पणी गरे। राईले संसदको मर्यादा कायम गर्ने जिम्मेवारी सरकार र सभामुख दुवैको भएको भन्दै सरकार संसदप्रति उदासीन देखिएको आरोप लगाए। उनले दुईतिहाइको दम्भका आधारमा संसदीय अभ्यासलाई कमजोर बनाउन खोजिएको भन्दै चेतावनी समेत दिए।