काठमाडौँ । नेपालले अब रेमिटेन्समा मात्र निर्भर डायस्पोरा संलग्नताबाट अघि बढ्दै विश्वभर रहेका नेपालीहरूको ज्ञान, सीप, अनुभव र पेशागत सञ्जाललाई राष्ट्रिय विकाससँग जोड्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।
ग्लोबल नेपाली प्रोफेसनल नेटवर्क ग्लोबल नेपाली प्रोफेसनल नेटवर्क द्वारा स्ट्यानफोर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रममा “डायस्पोरा नलेज ब्रिजेज” अवधारणामाथि छलफल गरिएको हो। उक्त अवधारणाले विदेशमा रहेका नेपालीहरूको पेशागत क्षमता, अनुसन्धान, प्रविधि र नेतृत्व सीपलाई नेपालको विकासमा प्रभावकारी रूपमा उपयोग गर्ने लक्ष्य राखेको छ। कार्यक्रममा नेपाल पोलिसी इन्स्टिच्युट नेपाल नीति संस्थानका संस्थापक तथा अध्यक्ष डा. खगेन्द्रराज ढकालले प्रमुख वक्ताका रूपमा प्रस्तुति दिँदै डायस्पोराको ज्ञान र सीपलाई नेपालसँग जोड्ने स्पष्ट नीतिगत रोडम्याप आवश्यक रहेको बताए। उनले नेपालसँग विश्वभर छरिएको ठूलो नेपाली समुदाय भए पनि त्यसको ठूलो हिस्सा अझै पूर्ण रूपमा उपयोग हुन नसकेको उल्लेख गरे। उनका अनुसार धेरैजसो डायस्पोरा योगदान दिन इच्छुक भए पनि स्पष्ट संयन्त्र नहुँदा प्रभावकारी सहभागिता कम रहेको छ।
डा. ढकालले नेपालले अब डायस्पोराको भावना मात्र होइन, उनीहरूको व्यावसायिक क्षमता र विशेषज्ञतालाई संस्थागत रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा सहभागीहरूले नेपाल र डायस्पोरा समुदायबीच नीति, सुशासन, अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता र युवा नेतृत्वजस्ता क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने धारणा राखेका थिए। कार्यक्रममा ग्लोबल नेपाली प्रोफेसनल नेटवर्क अध्यक्ष निले श्रेष्ठले संस्था स्थापना भएदेखि नै नेपालसँग सम्बन्धित नीति संवाद र ज्ञान आदानप्रदानमा निरन्तर योगदान दिँदै आएको बताए। कार्यक्रमका वक्ताहरूले डायस्पोरालाई नेपालको दीर्घकालीन विकासको महत्वपूर्ण रणनीतिक साझेदारका रूपमा हेर्नुपर्ने निष्कर्ष निकालेका थिए। डा. ढकालका अनुसार आगामी दुई साताभित्र डायस्पोरा संलग्नतासम्बन्धी अवधारणापत्रको प्रारम्भिक मस्यौदा तयार पारिनेछ र त्यसपछि विश्वभर रहेका नेपाली विज्ञहरूसँग थप छलफल विस्तार गरिनेछ। कार्यक्रम स्ट्यानफोर्ड विश्वविद्यालयमा ग्लोबल नेपाली प्रोफेसनल नेटवर्कको आयोजनामा सम्पन्न भएको हो, जसमा विभिन्न देशका नेपाली मूलका विज्ञ, पेशाकर्मी, अनुसन्धानकर्ता र विद्यार्थीहरूको सहभागिता रहेको थियो।