काठमाडौँ । हेटौंडामा प्रहरी र सञ्चारकर्मीबीच सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लामा कार्यरत विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।जिल्ला प्रहरी कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीको उपस्थितिमा सुरक्षा अवस्था, शान्ति व्यवस्था र अपराध नियन्त्रणका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा सञ्चारकर्मीहरूले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै एसपी खत्रीले प्रहरी र सञ्चार क्षेत्रबीचको सहकार्य अझ मजबुत हुन आवश्यक रहेको बताए।
उनले सत्य र तथ्यमा आधारित समाचारले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न मद्दत गर्ने उल्लेख गरे। एसपी खत्रीले मकवानपुरमा जुवा–तास, अवैध कारोबार तथा आपराधिक गतिविधिविरुद्ध प्रहरी सक्रिय रूपमा अभियान सञ्चालन गरिरहेको जानकारी दिए।उनले केही स्वार्थ समूहहरूले प्रहरीको कामप्रति भ्रम फैलाउने प्रयास गरे पनि कानुन कार्यान्वयनमा प्रहरी प्रतिबद्ध रहेको स्पष्ट पारे। कार्यक्रममा जिल्लाभित्रका विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रहरीले आगामी दिनमा पनि सञ्चारकर्मीसँग समन्वय र सहकार्यलाई निरन्तरता दिने जनाएको छ।