काठमाडौँ । सहकारी विभागले राष्ट्रिय सहकारी बैंकलगायत विभिन्न सहकारी सङ्घसंस्थाहरूको सञ्चालक समिति निर्वाचनमा राजनीतिक दलहरूले दलीय आस्थाका आधारमा प्यानल खडा गरी प्रतिस्पर्धा गर्ने गरेको कार्यप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशित समाचार र आएका गुनासाहरूलाई सम्बोधन गर्दै विभागले एक विज्ञप्ति जारी गरी यस्ता गतिविधिलाई तत्काल रोक्न र निरुत्साहित गर्न सम्बन्धित सबैमा अनुरोध गरेको हो।
सहकारीका आधारभूत मूल्य, मान्यता र सिद्धान्तहरू विपरीत हुने यस्ता राजनीतिक हस्तक्षेप र दलीय प्यानलले सहकारी ऐन, २०७४ को प्रस्तावना र कानुनी व्यवस्थालाई प्रतिकूल असर पु¥याउने विभागको ठहर छ।
विज्ञप्तिमा भनिएको छ, “दलीय आधारमा प्यानल खडा गरी प्रतिस्पर्धा गर्दा सहकारीका सदस्यहरूबीच अस्वस्थ प्रतिस्पर्धा बढ्न जाने र सहकारी क्षेत्रमा सुशासन कायम गराउनमा समेत नकारात्मक असर पुग्ने देखिएको छ।“
विभागले सहकारीको वास्तविक मर्म अनुसार स्वस्थ वातावरण निर्माण गर्न र सहकारी क्षेत्रमा वित्तीय सुशासन कायम राख्नका लागि यस्ता राजनीतिक गतिविधिहरूलाई पूर्ण रूपमा निरुत्साहित गर्न जोड दिएको छ। साथै, सहकारीलाई दलगत राजनीतिभन्दा माथि राखेर सञ्चालन गर्ने वातावरण बनाउनका लागि सम्पूर्ण सरोकारवाला, राजनीतिक दल र सहकारीकर्मीहरूलाई सहयोग गरिदिन समेत विभागले आग्रह गरेको छ।
