काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको लिखित कारण माग गरेको छ।
प्रसाईँका तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो। सर्वोच्च अदालतले प्रसाईँलाई कुन आधार र कारणले पक्राउ गरिएको हो, त्यसको लिखित जवाफ माग गर्दै महान्यायाधिवक्ताको कार्यालयमार्फत अनुसन्धानको सक्कल फायलसमेत पेस गर्न आदेश दिएको छ।
एक धार्मिक तथा नागरिक कार्यक्रममा सहभागी हुन सिमरा हुँदै वीरगञ्ज पुगेका प्रसाईँलाई गत सोमबार प्रहरीले वीरगञ्जको एक होटलबाट नियन्त्रणमा लिएको थियो। पक्राउ परेलत्तै उनका तर्फबाट गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरिएको थियो।
प्रहरीले प्रसाईँको सार्वजनिक अभिव्यक्ति र सार्वजनिक शान्तिमा खलल पु¥याएको विषयमा अनुसन्धान भइरहेको जनाए पनि पक्राउको स्पष्ट कानुनी आधारबारे सर्वोच्चको आदेशपछि सरकारले लिखित जवाफ पेस गर्नुपर्नेछ।