काठमाडौँ । चन्द्रगढी विमानस्थलमा दुर्घटनाग्रस्त बुद्ध एयरको जहाजको अवशेष चार महिनापछि हटाइने भएको छ ।
चार महिनाअघि धावनमार्गबाट चिप्लिएर खोल्सीतर्फ खसेको उक्त जहाज आगामी १० दिनभित्र पूर्ण रूपमा हटाइने विमानस्थल कार्यालयले जनाएको छ । गत पुस १८ गते काठमाडौँबाट आएको बुद्ध एयरको ‘कल साइन ९०१’ जहाज अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको थियो । जहाजमा सवार चालक दलसहित ५१ जनामध्ये सात जना घाइते भएका थिए । दुर्घटनापछि जहाज घटनास्थलमै त्रिपालले छोपेर राखिएको थियो । लामो समयसम्म अवशेष नहटाइँदा यात्रुहरूमा मनोवैज्ञानिक असहजता देखिँदै आएको थियो । विमानस्थल प्रमुख किशोरकुमार खत्रीका अनुसार प्राविधिक अनुसन्धान र बिमा प्रक्रिया पूरा भएपछि अवशेष हटाउने तयारी अघि बढाइएको हो । हाल जहाजबाट बुद्ध एयरको नाम र लोगो हटाइसकिएको छ भने बिमा कम्पनीमार्फत आगामी १० दिनभित्र सम्पूर्ण अवशेष व्यवस्थापन गरिने जनाइएको छ ।