काठमाडौँ । बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै २३ दिनदेखि अनशनरत अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच पाँच बुँदे सहमति भएको छ ।
सहमति भएसँगै खानले आफ्नो अनशन अन्त्य गरेकी हुन् । उनलाई प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले पानी खुवाएर अनशन तोडाएकी थिइन् । बाँकेको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा अनशनरत खानसँग सरकारका तर्फबाट विशेष टोलीले वार्ता गरेको थियो । उक्त टोलीमा प्रहरी प्रधान कार्यालयका एआईजी सुशिल सिंह राठौर, गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्ले र प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहाल सहभागी थिए । लगातारको वार्तापछि गृह मन्त्रालयका सहसचिव र अधिकारकर्मी खानबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमति अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएको निर्मला कुर्मी सम्बन्धी मुद्दाको हालसम्मको अनुसन्धान अध्ययन गरी छिटो न्यायिक प्रक्रियामा लैजाने निर्णय भएको छ ।
साथै अन्य घटनाबारे लुम्बिनी प्रदेश प्रहरी कार्यालयमार्फत छानबिन गरिने र कमजोरी पाइएमा सम्बन्धित प्रहरी कर्मचारीमाथि कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाइएको छ । त्यस्तै, खानविरुद्ध दर्ता भएको सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धान छिटो टुंग्याउन निर्देशन दिइने सहमति भएको छ । निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत खान तथा अन्य महिला अधिकारकर्मीहरूको सुरक्षाका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइने पनि सहमतिमा उल्लेख छ । समग्रमा पाँच बुँदे सहमतिसँगै लामो समयदेखि जारी अनशन अन्त्य भएको छ ।