काठमाडौँ । बाजुरा जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाले बडीमालिकालाई प्रधानमन्त्री बालेन्द्र शाहले दिएको ‘स्वीजरल्याण्डको बाउ’ उपमाले क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप चर्चा र आकर्षण बढाएको बताएका छन् ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले धार्मिक, ऐतिहासिक तथा प्राकृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण बडीमालिकालाई चर्चित व्यक्तिको यस्तो अभिव्यक्तिले अझ व्यापक रूपमा चिनाउन सहयोग पुगेको बताए । उनका अनुसार बडीमालिकामा ठूलो धार्मिक र पर्यटन सम्भावना भए पनि पर्याप्त प्रचारप्रसार अभावका कारण अपेक्षित चर्चा हुन सकेको थिएन । बालेन्द्र शाहको अभिव्यक्तिपछि भने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान यस क्षेत्रतर्फ बढ्न थालेको उनले उल्लेख गरे । रोकायाले बडीमालिकालाई सतिदेवीको कुम पतन भएको पवित्र धार्मिक स्थल र प्राकृतिक सुन्दरताले भरिपूर्ण क्षेत्रका रूपमा व्याख्या गर्दै सामाजिक सञ्जालमा प्रभावशाली व्यक्तिको एउटा अभिव्यक्तिले पनि जनमानसमा ठूलो प्रभाव पार्ने बताए । उनले यसअघि पनि बडीमालिकाको पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम र महोत्सव आयोजना गरिए पनि अहिले जस्तो व्यापक चर्चा नभएको बताए ।
साथै उनले बाजुराका धार्मिक तथा पर्यटकीय क्षेत्र अझै राज्यको प्राथमिकतामा पर्न नसकेको गुनासो गर्दै संरक्षण, प्रचारप्रसार र पूर्वाधार विकासका लागि प्रदेश र संघीय सरकारसँग निरन्तर पहल भइरहेको जानकारी दिए । समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको बडीमालिका धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण गन्तव्य मानिन्छ । यहाँ रहेका २२ पाटन, त्रिवेणी र नाटेश्वरी क्षेत्र पर्यटकका आकर्षणका केन्द्र हुन् । भारतसहित विभिन्न स्थानबाट दर्शनार्थी यहाँ पुग्ने गरेका छन् ।