काठमाडौँ । बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा सिमा विवादका कारण भएको झडपमा घाइते भएकामध्ये चार जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
अस्थायी प्रहरी चौकी स्थापना गर्ने विषयलाई लिएर बाजुरा र हुम्लाका स्थानीयबीच विवाद चर्किँदा झडप भएको हो । उक्त घटनामा घाइते भएका पेमा गारा गुरुङ, लक्ष्मी गुरुङ, मिन कुवर र नरबहादुर गुरुङलाई उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । झडपमा प्रहरी सहायक हवल्दार महेश धामी र हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा पनि घाइते भएका छन् ।
लाम्पाटा क्षेत्र हुम्लाको नाम्खा, ताजाकोट, सर्केगाड र खार्पुनाथसँग जोडिएको सीमावर्ती क्षेत्र हो । यहाँ अस्थायी प्रहरी चौकी निर्माण गर्ने क्रममा विवाद उत्पन्न भएको बताइएको छ । स्थानीयका अनुसार चौकी निर्माण स्थलको विषयमा असहमति हुँदा झडपको अवस्था सिर्जना भएको हो । घटनाका बेला ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं’ अभियानअन्तर्गत स्थानीय जनप्रतिनिधि र अन्य टोली रानिसैनतर्फ जाँदै थिए । सो क्रममा हुम्लाका स्थानीयसँग विवाद बढ्दै जाँदा हातपातसम्मको अवस्था आएको थियो । यस घटनापछि बाजुराका चार स्थानीय तहले संयुक्त विज्ञप्ति जारी गर्दै आक्रमणको निन्दा गरेका छन् । उनीहरूले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषीमाथि कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन् । विज्ञप्तिमा लाम्पाटा, च्याचौर र रानिसैन क्षेत्र नापी तथा प्रशासनिक अभिलेखअनुसार बाजुरा जिल्लाभित्र पर्ने उल्लेख गर्दै विवाद समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।