कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ जोकाहा गाउँ नजिकैको सुक्तिकाडा खोला क्षेत्रबाट ठूलो परिमाणमा अवैध खयर जातको काठ बरामद गरिएको छ। सब डिभिजन वन कार्यालय साँडेपानीको विशेष निगरानी तथा डिभिजन वन कार्यालय पहलमानपुरका वन जमदार पुष्पराज भट्टको नेतृत्वमा खटिएको विशेष गस्ती टोलीले बुधबार बिहान करिब ५ बजे उक्त अवैध काठ बरामद गरेको हो।
विशेष सूचनाका आधारमा स्थलगत अनुगमनमा निस्किएको टोलीले अवैध रूपमा तस्करी गर्न लागिएको १ टिप्पर र ४ वटा ट्याक्टर (ट्राली) मा लोड गरिएको खयरको काठ नियन्त्रणमा लिएको छ। बरामद गरिएको काठ र सवारी साधनलाई हाल सब डिभिजन वन कार्यालय साँडेपानीमा राखिएको छ।
स्थानीयका अनुसार पहिचान नखुलेको एउटा ट्रक चौड्याल विद्यालयको उत्तरतर्फ रहेको चितलपुरको चउर क्षेत्रमा शङ्कास्पद रूपमा पार्किङ गरी राखिएको थियो। उक्त सवारीमाथि वन टोलीले सूक्ष्म निगरानी राखेका कारण ठूलो परिमाणको काठ तस्करी हुनबाट जोगिएको सब डिभिजन वन कार्यालय साँडेपानीले जनाएको छ।
बरामद गरिएको काठको गोलियामा अवैध रूपमा ‘टाचा नम्बर’ (वन कार्यालयको आधिकारिक छाप जस्तै देखिने चिह्न) समेत हानेको पाइएको छ। वन कार्यालयको आधिकारिक टाचा जस्तै देखिने गरी अवैध रूपमा नम्बर प्रयोग गरिएकाले यस कार्यमा वनकै कर्मचारी वा प्राविधिकहरूको मिलेमतो हुनसक्ने गम्भीर आशंका उब्जिएको छ। साधारण व्यक्तिको पहुँचमा टाचा नहुने भएकाले यति ठूलो परिमाणमा काठ तस्करी हुनुमा सेटिङ हुनसक्ने स्थानीयको दाबी छ।
यस विषयमा सब डिभिजन वन कार्यालय साँडेपानीका कार्यालय प्रमुख शेरबहादुर भण्डारीसँग बुझ्दा आफू हाल बिदामा रहेको जानकारी दिए। यद्यपि, बरामद गरिएको काठ र सवारी साधनबारे कानुनी प्रक्रिया अनुसार सूक्ष्म अनुसन्धान अघि बढाइने र तस्करीमा संलग्न दोषी जोसुकै भए पनि आवश्यक कारबाही गरिने उनले प्रतिबद्धता जनाएका छन्।
वन क्षेत्रबाट व्यापक रूपमा अवैध काठ ओसारपसार भइरहेको सूचनाका आधारमा वन कार्यालयले गस्ती र निगरानी बढाएको जनाएको छ। घटनाको थप विवरण र संलग्न व्यक्तिहरूको खोजीका लागि वन कार्यालयले अनुसन्धान प्रक्रिया तीव्र पारेको छ।