काठमाडौँ । मुगु जिल्लाका तीन गाउँपालिकामा निर्माणाधीन अस्पतालहरू चार वर्ष बितिसक्दा पनि अलपत्र अवस्थामा रहेका छन् ।
२०७७ सालमा देशभरका स्थानीय तहमा ५, १० र १५ शैयाका अस्पताल निर्माण गर्ने योजना अन्तर्गत कर्णाली प्रदेशका ४१ स्थानीय तहमा ४२ वटा अस्पताल शिलान्यास गरिएको थियो । तर मुगुका स्थानीय तहमा सुरु भएका अस्पतालहरूको काम अपेक्षाअनुसार अघि बढ्न सकेको छैन । खत्याड गाउँपालिकामा निर्माणाधीन १० शैयाको अस्पताल १८ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित पिसिएल सुर्काय जे।भी।ले १० करोड ६६ लाख रुपैयाँमा ठेक्का लिएको थियो । तर चार वर्ष बित्दा पनि करिब ३० प्रतिशत मात्र भौतिक र २० प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजनाको म्याद दुई पटक थपिए पनि काम सुस्त रहेको देखिन्छ ।
हालसम्म ठेकेदार कम्पनीलाई २ करोड ५८ लाख रुपैयाँभन्दा बढी भुक्तानी भइसकेको छ । अन्तिम म्याद २०८३ मंसिरसम्म भए पनि अझै ठूलो मात्रामा काम बाँकी छ । ठेकेदार पक्षले भने बजेट अभाव र समयमा भुक्तानी नहुँदा काम प्रभावित भएको दाबी गरेको छ । त्यसैगरी मुगुको छायाँनाथ रारा नगरपालिका, मुगमकार्मारोङ गाउँपालिका र सोरु गाउँपालिकामा पनि अस्पताल निर्माण कार्य अत्यन्त सुस्त गतिमा अघि बढिरहेको छ । स्थानीयवासीले अस्पताल बन्ने आशा भए पनि लामो समयदेखि प्रगति नदेखिएको भन्दै असन्तुष्टि जनाएका छन् । सरोकारवाला निकायहरूले नियमित अनुगमन र ठेक्का कम्पनीलाई जिम्मेवार बनाउँदै निर्माण कार्य छिटो सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।