काठमाडौँ । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले सरकारले सुकुम्वासीमाथि अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पर्याप्त तयारी र स्थायी बसोबासको व्यवस्था नगरी सुकुम्वासीलाई उनीहरू बसेको स्थानबाट हटाइएको भन्दै आपत्ति जनाए ।उनका अनुसार सरकारले जेठ, असार र साउन तीन महिनासम्म प्रतिपरिवार १५–१५ हजार रुपैयाँ दिने निर्णय व्यावहारिक नभएको बताए । उनले यो रकम पाँच जनाको परिवारका लागि प्रतिव्यक्ति दैनिक करिब एक सय रुपैयाँ मात्र पर्ने उल्लेख गर्दै त्यसले काठमाडौँ आसपासमा जीवनयापन गर्न नसकिने प्रश्न उठाए । सांसद बरालले सरकारको कदमलाई सुकुम्वासीमाथि गरिएको “अमानवीय व्यवहार” को संज्ञा दिँदै अस्थायी बसोबासका लागि दिइने भनिएको राहत पर्याप्त नभएको बताए । उनले सुकुम्वासीको दीर्घकालीन व्यवस्थापनका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने मागसमेत गरेका छन् ।