काठमाडौँ । मकवानपुर जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई कडा बनाउँदै उपभोक्ता अधिकार संरक्षणमा जोड दिएको छ ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा हेटौंडा उपमहानगरपालिका–१० सिमाचोक क्षेत्रमा गरिएको अनुगमनका क्रममा अधिकांश पसलमा मूल्यसूची नराखिएको तथा उपभोक्तालाई आवश्यक जानकारी नदिएको पाइएको छ । अनुगमन टोलीले व्यापारिक प्रतिष्ठानहरूमा पुगेर वस्तुको मूल्य, गुणस्तर, म्याद र कानुनी प्रावधानको पालना भए–नभएको विषयमा निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा कतिपय व्यवसायीले अनिवार्य रूपमा राख्नुपर्ने मूल्यसूची प्रदर्शन नगरेको र उपभोक्ता अधिकारसम्बन्धी नियम पूर्ण रूपमा पालना नगरेको देखिएको प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी अधिकारीले नियम उल्लंघन गर्ने व्यवसायीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिँदै बजार अनुगमनलाई निरन्तरता दिइने बताएका छन् । उनले व्यवसायीलाई पारदर्शी रूपमा व्यापार सञ्चालन गर्न पनि आग्रह गरेका छन् । अनुगमन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खड्का, सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी तथा अन्य सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । प्रशासनले उपभोक्तालाई कुनै पनि अनियमितता देखिएमा सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गर्दै बजारलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउन नियमित अनुगमन जारी रहने जनाएको छ ।