काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न जिल्लाबाट प्रहरीले लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–१४ बल्खुबाट प्रहरीले नियन्त्रित लागूऔषध ट्रामाडोल १४० ट्याब्लेटसहित नुवाकोट लिखु गाउँपालिका–८ घर भई हाल बल्खु बस्दै आएका २४ वर्षीय प्रकाश दर्जीलाई मंगलबार बिहान पक्राउ गरेको हो । उनलाई प्रहरी प्रभाग बल्खुबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जनाएको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका–४ तितिरेबोट क्षेत्रमा करिब ६ किलो गाँजासहित दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहाको लहान नगरपालिका–१७ की ४५ वर्षीया लिलादेवी राम र लहान–८ की ४० वर्षीया अस्मिता राम रहेका छन् ।
उनीहरू सवार स१ज ५९० नम्बरको बोलेरो गाडीलाई अस्थायी प्रहरी पोस्ट नेपालटारको टोलीले जाँच गर्ने क्रममा गाँजा फेला पारेको प्रहरीले जनाएको छ । त्यसैगरी सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुर जुटपानीबाट १३ किलो २५० ग्राम गाँजासहित २१ वर्षीय विजयकुमार यादव पक्राउ परेका छन् । प्रहरी चौकी फत्तेपुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । घटनामा संलग्न अर्का एक व्यक्ति फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । उता झापाको कनकाई नगरपालिका–३ कालीस्थान चोकबाट ब्राउनसुगर जस्तो देखिने ४ सय मिलिग्राम पदार्थसहित ४३ वर्षीय चन्द्रबहादुर पौडेल पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीले सबै घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।