काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्कीमाथि एक विदेशी (नाइजेरियन) युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपबारे पार्टीभित्रै छानविनको माग उठेको छ ।
रास्वपाकै सांसद आशिका तामाङले गम्भीर अनुसन्धानको माग गरेकी हुन् । सांसद तामाङले सामाजिक सञ्जालमार्फत यो प्रकरणमा पार्टीभन्दा माथि उठेर सत्यको पक्षमा उभिनुपर्ने बताएकी छन् ।
आफ्नो फेसबुक स्ट्याटसमा उनले महिलाको अस्मिता र मातृत्वको संवेदनशीलतालाई जोड दिएकी छन् ।
तामाङले लेखेकी छन्, ‘महिला चाहे त्यो स्वदेशी होस् कि विदेशी होस्, आखिर यो धर्तीको आमा हुन् ! देखेका सबै कुरा सत्य नहुन पनि सक्छन् तर सत्य जसरी बाहिर छरपष्ट आइरहेका कुराहरूको अनुसन्धान भने पक्कै हुनुपर्छ ।’
आफ्नो दलका सांसदमाथि प्रश्न उठेपछि उनले स्पष्ट रूपमा भनेकी छन्, ‘पार्टीभन्दा ठूलो देश र देशभन्दा ठूलो यो संसार हो । यहाँ कसैलाई अन्याय हुनुहुँदैन । यदि कसैले अन्याय गर्छ भने चाहे त्यो आफ्नै घरको सदस्य नै किन नहोस्, हामीले गलतलाई गलत भन्न छोड्नु हुँदैन ।’
पछिल्लो समय एक नाइजेरियन युवतीले सांसद कार्कीसँग आफ्नो सम्बन्ध रहेको र उनले आफूलाई गर्भवती बनाएर बेवास्ता गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो र प्रमाण सार्वजनिक भएका छन्।