काठमाडौँ। आगामी जेठ ८ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र काजी अहिले चर्चामा छ। ट्रेलर र गीत सार्वजनिक भएसँगै दर्शकमाझ उत्साह बढिरहेका बेला अभिनेता विपिन कार्की ले चलचित्रको कथा, पात्र र आफ्नो अभिनय अनुभवबारे धारणा साझा गरेका छन्।
विपिनका अनुसार ‘काजी’ आफूले यसअघि अभिनय नगरेको फरक शैलीको प्रेमकथामा आधारित चलचित्र हो। सुरुवातमा चलचित्रको कथा फरक भए पनि पछि निर्माण टोलीले नयाँ कथासहित प्रस्ताव ल्याएको र अहिलेको कथावस्तु आफूलाई निकै मन परेको उनले बताए। उनले चलचित्रले प्रेमलाई केवल संवाद र भावनामा सीमित नगरी दैनिकीका साना व्यवहार र सम्बन्धमार्फत प्रस्तुत गरेको बताए। श्रीमान–श्रीमतीबीचको समझदारी, त्याग र एकअर्काको खुशीमा रमाउने भावनालाई फिल्मले विशेष रूपमा उठाएको उनको भनाइ छ। विपिनले ‘काजी’को पात्र आफ्नो वैवाहिक जीवनसँग पनि केही हदसम्म मिल्ने भएकाले अभिनय गर्न सहज भएको अनुभव सुनाए।
उनले प्रेममा डुबेको, परिवार र सम्बन्धलाई महत्व दिने पात्रलाई नयाँ अनुभवका रूपमा लिएको बताए। चलचित्रको समय परिवेश २०५० सालअघिको रहेको र त्यस समयको सामाजिक परिवेशलाई समेत फिल्ममा देखाइएको उनले जानकारी दिए। दर्शकले अहिलेका नेपाली चलचित्रभन्दा फरक स्वाद ‘काजी’मा पाउने दाबी गर्दै उनले फिल्मले दर्शकलाई निराश नपार्ने विश्वास व्यक्त गरे। फिल्ममा केकी अधिकारी, गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकीलगायत कलाकारको अभिनय रहेको छ। लक्ष्मण रिजाल को निर्देशनमा बनेको चलचित्रमा प्रदीप भारद्वाजको कथा, चिन्तन राजभण्डारीको छायांकन र कालीप्रसाद बास्कोटाको संगीत रहेको छ।