काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद प्रभा ढकाल ले स्वास्थ्यकर्मीलाई उचित पारिश्रमिक र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न तथा मापदण्ड पूरा नगर्ने अस्पतालमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशभरका निजी तथा सामुदायिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी न्यूनतम पारिश्रमिक र सुरक्षित कार्य वातावरणको माग गर्दै आन्दोलनरत रहेको जानकारी दिइन्। उनका अनुसार स्वास्थ्य मन्त्रालयले पटक–पटक निर्देशन दिए पनि धेरै अस्पतालले सरकारी मापदण्डअनुसार पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन नसकेको अवस्था छ। सांसद ढकालले स्वास्थ्यकर्मीहरू असुरक्षित र असन्तुष्ट अवस्थामा हुँदा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न कठिन हुने भन्दै प्रश्न उठाइन्। उनले संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी मौलिक हक प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको पनि आरोप लगाइन्। उनले स्वास्थ्य सेवामा देखिएको कमजोरीका कारण समयमै उपचार नपाउँदा दुर्घटना र समस्या बढ्दै गएको उल्लेख गर्दै सरकारले तत्काल सुधारात्मक कदम चाल्नुपर्नेमा जोड दिइन्।