काठमाडौँ। इजरायल रोजगारीको आशामा विगत दुई वर्षदेखि पर्खिरहेका युवाहरूले सरकारले दिएको आश्वासन कार्यान्वयन नगरेको भन्दै विरोध प्रदर्शन गरेका छन्।
मंगलबार राजधानीको माइतीघर मण्डलामा भेला भएका उनीहरूले वैदेशिक रोजगार विभागको ढिलासुस्ती र नीतिगत अस्पष्टताका कारण आफूहरू अन्योलमा परेको गुनासो गरे। उनीहरूका अनुसार वि.सं. २०८१ मा भएको गोलाप्रथा (लक्की ड्र) मा छनोट नभए पनि प्रक्रिया पूरा गरिसकेका उम्मेदवारहरूलाई नयाँ खुल्ने कोटामा स्वतः समावेश गरिने आश्वासन सम्बन्धित निकायबाट दिइएको थियो। तर हालै सार्वजनिक समाचार अनुसार इजरायलका लागि नयाँ कोटा खुल्दा पुराना उम्मेदवारहरूले पुनः सुरुदेखि नै लक्की ड्र प्रक्रियामा सहभागी हुनुपर्ने अवस्था आएको छ, जसप्रति उनीहरू असन्तुष्ट छन्।
प्रदर्शनकारी युवाहरूले लामो समयदेखि गरिएको तयारी, आर्थिक लगानी र मानसिक तनावपछि फेरि नयाँ प्रक्रियामा जानुपर्ने बाध्यता अन्यायपूर्ण भएको बताएका छन्। उनीहरूले यसअघि वैदेशिक रोजगार विभाग, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयमा ज्ञापनपत्र बुझाइसकेको पनि बताएका छन्। तर ठोस निर्णय नआएकाले बाध्य भएर सडक आन्दोलनमा उत्रिनुपरेको उनीहरूको भनाइ छ। युवाहरूले पुराना योग्य उम्मेदवारहरूका लागि छुट्टै कोटा सुरक्षित गर्नुपर्ने माग गरेका छन्। माग पूरा नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी पनि दिएका छन्।