काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल ले ललितपुर का ऐतिहासिक सम्पदा र प्राचीन मूर्तिहरू चोरी भइरहेको विषयमा गम्भीर चिन्ता व्यक्त गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सम्पदाको धनी सहर ललितपुरमा अहिले ‘भगवानले हाम्रो रक्षा गर्ने होइन, हामीले भगवानको रक्षा गर्नुपर्ने’ अवस्था आएको टिप्पणी गरे। सांसद खरेलले ललितपुर क्षेत्रमा पुराना मूर्ति, हिटी र ऐतिहासिक संरचनाहरू हराउने र अतिक्रमण बढ्ने समस्या देखिएको बताए। उनका अनुसार केही महत्वपूर्ण ऐतिहासिक वस्तुहरू समेत हराइसकेका छन्, तर तिनको अवस्थाबारे स्पष्ट जानकारी छैन। उनले विशेष गरी रातो मछिन्द्रनाथ जात्रामा प्रयोग हुने ‘हिटी मंग’ हराएको विषय उठाउँदै त्यसको खोजी र संरक्षणमा सरकारको ध्यानाकर्षण गराए। उनले सम्पदा संरक्षणका लागि तत्काल अनुसन्धान र संरक्षणका उपाय आवश्यक रहेको जोड दिए।