काठमाडौँ । जलाकी को छायांकन ३९ दिनमै सम्पन्न भएको छ। निर्देशक अशोक थापा मगर का अनुसार पोखरा इन्टरनेशनल म्युजियममा अन्तिम दृश्य खिच्दै फिल्मको इन्डक्ल्याप गरिएको हो।
मुख्य अभिनेत्री उपासना सिंह ठकुरी सहितको टोलीले शनिबार पोखरामा गीतको दृश्य खिचेपछि छायांकन पूरा भएको हो। अब पोस्ट–प्रोडक्सनको काम सुरु गरिएको छ र केही दिनभित्र फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गर्ने तयारी गरिएको छ। त्रिकोणात्मक प्रेमकथामा आधारित यस फिल्ममा उपासनासँगै सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ लगायत कलाकारहरूको अभिनय रहेको छ। ‘जलाकी’ मगर समुदायको आस्था र सम्झनासँग जोडिएको प्रतीकात्मक ढुंगाको स्तम्भलाई जनाउने शब्द हो। फिल्मले मगर र गुरुङ समुदायको संस्कृति झल्काउने उद्देश्य राखेको छ। फिल्मको छायांकन रुकुम, रोल्पा, म्याग्दी, बागलुङ र पोखराका विभिन्न स्थानमा गरिएको थियो। निर्माण टिमका अनुसार फिल्म ३ चरणमा छायांकन गरिएको हो र अब पोस्ट–प्रोडक्सन चरणमा प्रवेश गरेको छ।