काठमाडौँ । जिल्ला प्रहरी कार्यालय रौतहट ले पछिल्लो एक महिनामा अपराध नियन्त्रण, तस्करी रोकथाम र फरार प्रतिवादी पक्राउ अभियानमा उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ।
प्रहरीले सञ्चालन गरेको विशेष निगरानी अभियानअन्तर्गत बैशाख महिनामा मात्रै ४६ लाख २३ हजार ७३३ रुपैयाँ बराबरको राजस्व संकलन भएको छ। नेपाल–भारत खुला सीमाको दुरुपयोग गर्दै हुने तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा कडाइ गरिएपछि ठूलो परिमाणमा अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विभिन्न नाकाबाट भन्सार छली गरी नेपाल भित्र्याइएका लत्ताकपडा, खाद्यान्न, इलेक्ट्रोनिक सामग्रीलगायतका सामान नियन्त्रणमा लिई भन्सार कार्यालय गौरमा बुझाइएको छ। साथै तस्करीमा प्रयोग भएका १३ वटा सवारी साधन पनि नियन्त्रणमा लिइएको छ।
फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत बैशाख महिनामा ५७ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख सिताराम रिजाल का अनुसार पक्राउ परेकाहरूबाट अदालतले तोकेको १७ वर्ष २८ दिन कैद भुक्तान प्रक्रिया अघि बढाइएको छ भने ३२ लाख रुपैयाँभन्दा बढी जरिवाना असुल गरिएको छ। प्रहरीले सामाजिक अपराध, आर्थिक अपराध, चोरी, आत्महत्या, ज्यानसम्बन्धी तथा महिला तथा बालबालिकासम्बन्धी विभिन्न मुद्दामा अनुसन्धान जारी रहेको जनाएको छ। यससँगै समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत जिल्लाभर ४१ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको पनि प्रहरीले जानकारी दिएको छ।