काठमाडौं । इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा भइसकेको गलत सूचना सार्वजनिक भएको विषयमा परराष्ट्र मन्त्रालयले माफी मागेको छ ।
उनको रिहाइ भइनसकेको स्पष्ट पार्दै परराष्ट्र मन्त्रालयले यसअघि सार्वजनिक भएको गलत सूचना र त्यसबाट सिर्जना भएको अन्योलप्रति क्षमा मागेको हो ।
मन्त्रालयले आज सोमबार प्रेस विज्ञप्ति जारी गर्दै झा हाल इरानको बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामै रहेको र उनको मुद्दा त्यहाँको स्थानीय अदालतमा विचाराधीन रहेको बताएको छ ।
यसअघि गत अप्रिल १५ मा इरानका लागि नेपाली अनररी कन्सल शाहराम सान्तीयले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई झा रिहा भएको र उनको रिहाइ पत्र जारी भइसकेको भनी अनौपचारिक सूचना पठाएका थिए।