काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको नामसारी र श्रेस्ता कायम गरिदिएबापत सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिने मालपोत कार्यालय, भैरहवा (रुपन्देही) का नायब सुब्बा (नासु) ओमबहादुर खाम्चाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । नासु खाम्चाले जिर्ण श्रेस्ता कायम गर्ने तथा अपुताली जग्गा नामसारी दाखा समेतका काम गरिदिने बहानामा सेवाग्राहीसँग घुस माग गरी मोलमोलाइ गरेको सूचनाका आधारमा आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई रङ्गेहात नियन्त्रणमा लिएको थियो ।
सेवाग्राहीबाट लिइसकेको दुई लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा परेका खाम्चामाथि अख्तियारले हिरासतमा राखी अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार विस्तृत अनुसन्धानका क्रममा नासु खाम्चाले पदीय मर्यादा विपरीत सेवाग्राहीलाई दुःख दिई दुई लाख रुपैयाँ रिसवत लिएको पुष्टि भएपछि उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मुद्दा चलाइएको हो ।
अख्तियारले सोमबार (जेठ ४ गते) विशेष अदालत, काठमाडौँमा आरोपपत्र दर्ता गर्दै खाम्चामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो दुई लाख रुपैयाँ कायम गरेको छ । साथै सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय र बिगो बमोजिमको जरिवाना समेत असुलउपर गर्न मागदाबी गरिएको आयोगले जनाएको छ ।