काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले परम्परागत पुलिसिङ प्रणालीलाई परिवर्तन गर्दै नवीन सोच र कार्यशैलीका साथ अघि बढ्न मातहतका अधिकारीहरूलाई निर्देशन दिएएका छन् । हालै सरुवा भई आ–आफ्नो नयाँ कार्यक्षेत्र सम्हाल्न जान लागेका प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूलाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्बोधन गर्दै आईजीपी कार्कीले नागरिकको अपेक्षालाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गर्न निर्देशित गरेका हुन् । उनले प्रहरी सेवालाई थप उत्तरदायी, पारदर्शी र छिटोछरितो बनाउन निर्देशन दिँदै बोलीबचन र व्यवहारमा उच्च व्यावसायिकता प्रदर्शन गर्न सचेत गराए । संगठनको नीतिनियम विपरीत व्यक्तिगत स्वार्थ र पूर्वाग्रह राखेर काम गर्ने छुट कसैलाई नभएको भन्दै उनले सांगठनिक हित र भातृत्वभावलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।
सम्बोधनका क्रममा महानिरीक्षक कार्कीले शान्ति सुरक्षा कायम राख्न प्रत्येक क्षेत्रको सम्भावित सुरक्षा चुनौतीहरूको सूक्ष्म विश्लेषण गरी योजनाबद्ध र प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्नेमा जोड दिए । विशेष गरी प्रहरी कार्यालयमा सेवा लिन आउने आपत–विपद्, दुःख र पीडामा परेका नागरिक, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सीमान्तकृत वर्गप्रति थप संवेदनशील हुन उहाँले विशेष जोड दिए । प्रहरी सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउने योजना अनुरूप अबदेखि गुनासो तथा उजुरीका लागि ‘क्यूआर कोड’ र प्रगतिको विवरण जानकारी गराउन ‘एसएमएस’ सेवा अनिवार्य लागू गनदिएका छन् । साथै हिरासत कक्षलाई थप व्यवस्थित र मानवअधिकार अनुकूल बनाउन, प्रमाणमुखी अपराध अनुसन्धानमा जोड दिन र नागरिकसँगको सहकार्यमा अपराध न्यूनीकरणका सचेतना कार्यक्रम चलाउन बताए ।
आईजीपी कार्कीले सीमा क्षेत्रमा हुने अपराध, तस्करी नियन्त्रण र फरार प्रतिवादी पक्राउ गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिँदै आसन्न वर्षायामलाई मध्यनजर गर्दै कुनै पनि विपद्का घटनामा तत्काल उद्धारमा खटिन सक्ने गरी पूर्वअभ्यासका साथ प्रहरी टोलीलाई ‘अलर्ट’ (तयारी हालत) मा राख्न पनि बताएका छन् । सडक दुर्घटना न्यूनीकरणका लागि समेत थप सक्रियता देखाउनुपर्ने उनको भनाइ थियो। सो निर्देशन कार्यक्रममा मानवस्रोत विकास विभागका प्रमुख एआईजी राजन अधिकारी, कार्य विभागका प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदी, प्रशासन विभागका प्रमुख एआईजी हिमालयकुमार श्रेष्ठ, प्रदेश समन्वय विभागका प्रमुख एआईजी डम्बरबहादुर विक र अपराध अनुसन्धान विभागका डीआईजी सानुराम भट्टराईले समेत सरुवा भई जान लागेका अधिकृतहरूलाई समसामयिक सुरक्षा रणनीति र भावी कार्यदिशाबारे दिशानिर्देश गरेका थिए ।