काठमाडौँ । चीनको दक्षिणी ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रको लिउझोउ सहरमा सोमबार बिहान ५।२ म्याग्निच्युडको भूकम्प गएको छ।
स्थानीय प्रशासनका अनुसार भूकम्पका कारण १३ वटा भवन भत्किएका छन् भने सात हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। घटनामा तीन जना बेपत्ता भएका छन् भने चार जना घाइते भएर उपचाररत छन्। चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार राति १२ः२१ बजे लिउनान जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। भूकम्पको गहिराइ आठ किलोमिटर रहेको बताइएको छ। मुख्य भूकम्पअघि र पछि २.२ देखि ३.२ म्याग्निच्युडसम्मका पाँच वटा पराकम्प पनि महसुस गरिएको थियो। उद्धार तथा खोजी कार्यका लागि प्रहरी, दमकल र आपतकालीन टोली परिचालन गरिएको छ।
ग्वाङ्सी क्षेत्रीय सरकारले लेभल–३ आपतकालीन प्रतिक्रिया लागू गरेको छ भने चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयले पनि प्रभावित क्षेत्रमा विशेष टोली पठाएको जनाएको छ। सबैभन्दा बढी क्षति लिउनान जिल्लाको साङदेङ गाउँमा भएको बताइएको छ। त्यहाँ केही भवन पूर्ण रूपमा भत्किएका छन् भने बेपत्ता व्यक्तिहरू भग्नावशेषमा फसेको आशंका गरिएको छ। भूकम्पपछि ताइयाङछुन क्षेत्र हुँदै जाने सडकमा पहिरो समेत गएको छ, जसका कारण यातायात प्रभावित बनेको छ।