काठमाडौँ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले अनलाइन सञ्चार माध्यम बीमापोष्ट डटकम विरुद्ध जिल्ला अदालत काठमाडौंले जारी गरेको अन्तरिम आदेशप्रति गम्भीर आपत्ति जनाएको छ।
संघले सोमबार विज्ञप्ति जारी गर्दै २०८२ चैत २४ र २६ गते प्रकाशित दुई समाचार हटाउन अदालतले दिएको एकतर्फी आदेश प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत रहेको बताएको हो। नाफिजका अनुसार अदालतले सम्बन्धित सञ्चारमाध्यमलाई सुनुवाइको मौका नदिई २०८३ वैशाख १४ गते समाचार तथा टिप्पणी हटाउन आदेश दिएको थियो, जुन प्रक्रियागत रूपमा त्रुटिपूर्ण भएको दाबी गरिएको छ। संघले यस्तो विवादमा पहिले प्रेस काउन्सिल नेपालमार्फत समाधान खोजिनुपर्नेमा सिधै अदालत पुगेकोप्रति पनि आपत्ति जनाएको छ। संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र सूचनाको हकको सम्मान गर्नुपर्ने भन्दै नाफिजले उक्त आदेशमाथि पुनर्विचार गर्न अदालतसँग आग्रह गरेको छ। त्यसैगरी संघले न्यायालयको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दै पनि यो आदेश संविधान र अन्तर्राष्ट्रिय अभ्याससँग मेल नखाने दाबी गरेको छ।