काठमाठौँ । महिला, बालबालिका तथा लैङ्गिक र यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादी र ब्लु डाइमण्ड सोसाइटी बीच भेटवार्ता भएको छ।
भेटमा मन्त्रालयको नाम परिवर्तन गरी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई समेटिएकोप्रति समुदायका प्रतिनिधिहरूले सरकारलाई धन्यवाद व्यक्त गरेका छन्। समुदायका प्रतिनिधिहरूले यो निर्णयलाई ऐतिहासिक उपलब्धि भन्दै यसले आफ्नो अधिकार र पहिचानलाई संस्थागत रूपमा मान्यता दिएको बताएका छन्। मन्त्री वादीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अधिकार, सम्मान र सामाजिक सुरक्षाका विषयमा मन्त्रालय संवेदनशील रहेको बताउँदै आगामी दिनमा सरोकारवालासँग समन्वय गरी काम अघि बढाइने जानकारी दिएकी छन्। भेटमा समुदायका प्रतिनिधिहरूले नीतिगत र कानुनी चुनौतीबारे पनि सरकारलाई अवगत गराएका थिए।