काठमाडौँ। सांसदहरूले जनताका जल्दाबल्दा समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद अच्युतम लामिछाने, इन्दिरा रानामगर, अनुष्का श्रेष्ठलगायतले किसानका लागि समयमै मल, बिउबिजनको व्यवस्था गर्नुपर्ने लगायतका जनसरोकारका विषयमा गम्भिर बन्न सरकारलाई सचेत गराएका हुन् ।
सांसद लामिछानेले किसानलाई खेतीपातीका लागि आवश्यक सामग्रीको उचित व्यवस्था गर्न सरकारसँग माग गरे । सांसद इन्दिरा रानामगरले झापामा एसियन हाइवे निर्माणका क्रममा बस्ती क्षेत्रमा अलकत्रा उत्पादन गरिँदा वायु प्रदूषण बढेको भन्दै त्यसलाई तत्काल हटाउन सरकारसँग माग गरिन् । उनले पाटन औद्योगिक क्षेत्रको व्यवस्थापनमा पनि सरकारले आवश्यक कदम चाल्नुपर्ने बताईन् ।
सांसदहरूले सरकारले पर्यटन प्रवर्धनका लागि सक्षम संरचना निर्माणमा ध्यान दिनुपर्ने बताएका छन् । साथै कर्मचारी नियुक्ति प्रक्रियामा ढिलाइ नगर्न पनि सरकारलाई आग्रह गरेका छन् ।
सांसद श्रेष्ठले सक्षम पदाधिकारी नियुक्त गर्ने कार्यमा ढिलाइ नगर्न सरकारको ध्यानाकर्षण गराईन् ।
सांसद श्रेष्ठले सरकारले नागरिक सेवासम्बन्धी कामलाई तीव्रताका साथ अघि बढाउनुपर्नेमा पनि जोड दिईन्।