काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर ले औद्योगिक क्षेत्र र वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पाटन औद्योगिक क्षेत्र मूलतः घरेलु मूर्तिकलासम्बन्धी उद्योगका लागि छुट्याइएको भए पनि अहिले त्यहाँ ठूला उद्योग सञ्चालन भइरहेको बताइन्। उनका अनुसार यसले स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भीर असर पारेको छ। सांसद राना मगरले ती उद्योगका कारण धेरै मानिस बिरामी पर्ने र मृत्यु हुने अवस्था समेत देखिएको दाबी गरिन्। त्यसैगरी उनले झापा क्षेत्र नम्बर–२ मा वायु प्रदूषणका कारण क्यान्सरका बिरामी बढेको उल्लेख गर्दै एसियन हाइवे निर्माणका क्रममा बस्ती क्षेत्रमा प्रयोग गरिएको अलकत्रा पनि स्वास्थ्य समस्याको कारण बनेको बताइन्। उनले पटक–पटक सम्बन्धित निकायमा जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको गुनासो समेत गरेकी छन्।