काठमाडौँ । नेपालमा उत्पादन हुने हिमाली छुर्पीलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने ब्रान्ड ‘डग्सी च्यू’का संस्थापक दम्पत्ती भूपेन्द्र खनाल र स्नेह शर्मा खनाल यसपटक विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा उपस्थित भएका छन्।
मोरङको उर्लाबारीका यी दम्पत्तीले रेड कार्पेटमा घरपालुवा जनावरप्रतिको माया, जिम्मेवारी र संवेदनशीलताको सन्देश दिएका हुन्। उनीहरूले आफूहरूले पालेर गुमाएको कुकुर ‘मोगली’को सम्झनामा प्रेम र वफादारी झल्किने विशेष पहिरन लगाएका थिए। भूपेन्द्र खनालका अनुसार उनको पहिरनमा नेपाली मौलिकता, भारतीय शैली र पेरिसको डिजाइनको संयोजन गरिएको थियो। उनले यो केवल फेसन मात्र नभई आफ्नो संस्कृति, यात्रा र संघर्षको प्रतीक भएको बताए।
सन् २०१५ मा स्थापना भएको डग्सी च्यूले नेपाल र भारतका हिमाली क्षेत्रमा उत्पादन हुने छुर्पीलाई ‘हिमालयन याक च्यू’का रूपमा विश्व बजारमा पुर्याउँदै आएको छ। कम्पनी हाल ३० भन्दा बढी देशमा विस्तार भइसकेको छ र वार्षिक करिब २६० करोड भारतीय रुपैयाँ बराबरको कारोबार गरिरहेको बताइएको छ। प्राकृतिक र स्वास्थ्यवर्धक उत्पादनका रूपमा यसको माग विश्वभर बढ्दै गएको छ। सह–संस्थापक स्नेह शर्मा खनालले कान्स फिल्म फेस्टिभलमा सहभागिता घरपालुवा जनावरको हेरचाह, पोषण र कल्याणबारे विश्वव्यापी चेतनाको प्रतीक भएको बताइन्। हिमालयबाट सुरु भएको ब्रान्ड यति ठूलो अन्तर्राष्ट्रिय मञ्चमा पुग्नु आफ्नो लागि गर्वको विषय भएको उनको भनाइ छ।