काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण गरेका कामी रिता शेर्पा र ११औँ पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री शाहले आरोहीहरुको यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको बताएका छन् ।
शेर्पाले आज बिहान १०ः १२ बजे सगरमाथाको ३२औँ पटक सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान पुनः नवीकरण गरेका हुन् । “विश्वको सर्वोच्च शिखर सगरमाथा केवल एउटा भौगोलिक उचाइको अवयव मात्रै होइन, नेपालको आत्मसम्मान, साहस, धैर्य र हिमाली सभ्यताको सर्वोच्च प्रतीक हो। यही गौरवशाली हिमालमाथि आज नेपाली आरोहीहरूले पुनः इतिहास लेखेका छन्”, प्रधानमन्त्रीले भनेका छन् ।
साथै, ‘माउन्टेन क्विन’ का रूपमा परिचित लाक्पा शेर्पाले आजै बिहान ९ः ३० बजे ११औँ पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गरेका छन् ।
“निरन्तरको अदम्य साहस, कठोर आत्मअनुशासन र कर्मप्रतिको इमान्दार समर्पणले मात्रै यस्तो ऐतिहासिक सफलता प्राप्त हुन सक्दछ”, प्रधानमन्त्री शाहले भनेका छन्, “खुसीको यो क्षणलाई सबैजनासँग साझा गर्दै दुबैजना आरोहीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।”