काठमाडौँ । फ्रेन्चाइजमा आधारित नेपालको सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ (एनएसएल) को चौथो संस्करण आगामी भदौ २० गतेदेखि सुरु हुने भएको छ। लिगको आयोजक संस्था नेपाल स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) ले आइतबार काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गर्दै नयाँ सिजनको मिति घोषणा गरेको हो। यसपटकको एनएसएल व्यावसायिक नेपाली फुटबलको विकासमा कोसेढुङ्गा साबित हुने दाबी गर्दै आयोजकले प्रतियोगितामा व्यापक संरचनात्मक परिवर्तन गर्न लागिएको जानकारी दिएको छ। करिब चार महिनासम्म चल्ने यस संस्करणले घरेलु फुटबलमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ।
यस वर्षको प्रतियोगितामा सबैभन्दा ठुलो आकर्षण ‘होम एन्ड अवे’ (आफ्नो र विपक्षीको मैदान) प्रणाली हुनेछ। नेपालको फुटबल इतिहासमा पहिलोपटक कुनै पनि लिग यो ढाँचामा सञ्चालन हुन लागेको हो। यसअघिका तीन वटै संस्करणका सबै खेलहरू काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मात्र आयोजना हुँदै आएका थिए। तर, यसपटकदेखि विभिन्न सहरका खेलप्रेमी दर्शकहरूलाई समेट्न र घरेलु मैदानको क्रेज बढाउन ’होम एन्ड अवे’ मोडल लागू गर्न लागिएको हो। यसका साथै प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र बृहत् बनाउन टोलीको संख्या समेत बढाएर १० देखि १२ सम्म पु¥याउने तयारी आयोजकले गरेको छ।
इतिहासलाई हेर्दा, कोभिड महामारीको समयमा बन्द रङ्गशालाभित्र खेलिएको एनएसएलको पहिलो संस्करण काठमाडौँ रेजर्सले जितेको थियो। त्यसपछिका दोस्रो र तेस्रो दुवै संस्करणमा भने ललितपुर सिटी एफसीले लगातार उपाधि उचाल्दै आफूलाई लिगको सबैभन्दा सफल टोलीका रूपमा स्थापित गरिसकेको छ। हालसम्म सीमित टोलीहरूबीच मात्र प्रतिस्पर्धा हुँदै आएकोमा अब टिम संख्या थपिने र मोडल समेत फेरिने भएपछि यस वर्षको च्याम्पियनसिप उपाधि भिडन्त निकै रोचक र चुनौतीपूर्ण हुने अनुमान खेल विश्लेषकहरूले गरेका छन्।