काठमाडौँ । नेपाल वायुसेवा निगमले जहाज खरिदका लागि लिएको ऋण समयमै तिर्न नसक्दा कुल दायित्व ५५ अर्ब ४ करोड रुपैयाँभन्दा बढी पुगेको छ।
महालेखा परीक्षकको प्रतिवेदनअनुसार निगमले प्रारम्भमा करिब ३६ अर्ब रुपैयाँ कर्जा लिएको थियो। तर साँवा तथा ब्याज भुक्तानी समयमा नगर्दा ऋण निरन्तर बढ्दै गएको देखिएको छ। २०७० र २०७४ सालमा नेपाल सरकारको जमानतमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ए–३२० तथा ए–३३० जहाज खरिदका लागि कर्जा लिइएको थियो। हालसम्म कर्मचारी सञ्चय कोषतर्फ करिब ३१ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी र नागरिक लगानी कोषतर्फ २१ अर्ब १२ करोड रुपैयाँभन्दा बढी तिर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ। समयमै भुक्तानी नगर्दा कुल बक्यौता रकम बढेर ५५ अर्ब ४ करोड ७८ लाख रुपैयाँ पुगेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।