काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रक्षाका लागि सबै एमालेजन एकजुट हुनुपर्ने बताएका छन्।
मदन–आश्रित स्मृति दिवसका अवसरमा बल्खुस्थित मदननगरमा आयोजित कार्यक्रममा बोल्दै उनले एमाले र यसको नेतृत्वमाथि विभिन्न पक्षबाट आक्रमण भइरहेको दाबी गरे। थापाका अनुसार देशी–विदेशी शक्तिहरूले एमाले र पार्टी नेतृत्वलाई कमजोर पार्ने प्रयास गरिरहेका कारण त्यसको प्रतिवाद गर्दै पार्टी अध्यक्ष ओलीको संरक्षण गर्नु आवश्यक भएको हो। उनले हालका राजनीतिक गतिविधि, आन्दोलन, निर्वाचन तथा सरकारी निर्णयहरू समेत लक्षित रूपमा ओलीविरुद्ध केन्द्रित भएको आरोप लगाए। थापाले एमाले नेतृत्व र संगठनलाई जोगाउन सबै नेता–कार्यकर्ताले सचेत भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि बताए।