काठमाडौँ । धनुषाका मिटरब्याज पीडितहरूले अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन्। विभिन्न मागहरू राख्दै उनीहरूले आइतबार जिल्ला प्रहरी कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गरेका छन्।
मिटरब्याज किसान मजदुर आन्दोलन नेपाल, धनुषा जिल्ला अध्यक्ष सम्भु प्रसाद यादवका अनुसार केही दिनअघि फुलगामा–४ की मिटरब्याज पीडित सुनिता साहलाई प्रहरीले पक्राउ गरेपछि पीडितहरूमा थप पीडा भएको भन्दै आन्दोलन सुरु गरिएको हो। उनका अनुसार मिटरब्याजीलाई कारबाही गर्नुको सट्टा पीडितलाई नै पक्राउ गरिँदै आएको घटनाप्रति आपत्ति जनाउँदै जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, अदालत र सरकारी वकिल कार्यालय अगाडि दैनिक शान्तिपूर्ण धर्ना र विरोध गर्ने निर्णय गरिएको छ।
आन्दोलनकारीहरूले मिटरब्याज पीडितलाई पक्राउ गर्न बन्द गर्नुपर्ने, सुदखोरलाई कारबाही गर्नुपर्ने, न्यायिक प्रक्रियामा हुने कथित दमन रोक्नुपर्ने लगायतका माग राखेका छन्। अध्यक्ष यादवले सरकारलाई ज्ञापनपत्र बुझाए पनि समस्या समाधानमा कुनै पहल नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले माग पूरा नभएसम्म अनिश्चितकालीन धर्ना र विरोध जारी रहने चेतावनी दिएका छन्। धनुषामा मिटरब्याज पीडितको संख्या करिब ७० हजार रहेको दाबी गरिएको छ।