काठमाडौं । पछिल्लो समय देशका विभिन्न स्थानमा ‘स्क्रब टाइफस’ को जोखिम बढ्दै गएको छ । सरुवा रोगको श्रेणीमा पर्ने यो रोग विशेषगरी वर्षायाम र त्यसपछिको समयमा बढी देखिने गर्दछ ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय (राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र) ले यस रोगबाट बच्न र सचेत रहन विशेष आग्रह गरेको छ ।
के हो स्क्रब टाइफस र कसरी सर्छ ?
स्क्रब टाइफस एक प्रकारको सरुवा रोग हो, जुन ‘ओरेन्सिया सुसुगामुसी’नामक जीवाणु (ब्याक्टेरिया) का कारण लाग्ने गर्दछ । यो जीवाणु मुसामा लाग्ने किर्ना जस्तो देखिने सानो किरा (माइट) मा पाइन्छ ।
जब उक्त संक्रमित माइटले मानिसलाई टोक्छ, तब यो रोग सर्ने गर्दछ । यो माइट प्रायः झाडी, खेतबारी, वनजंगल, तथा घर वरपरका झाडी र घुरान भएका ओसिलो ठाउँहरूमा पाइन्छ । सुखद कुरा के छ भने, यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।
स्क्रब टाइफसका मुख्य लक्षणहरू
– बिरामीलाई कडा ज्वरो आउँछ र कहिलेकाहीँ काँपेर (कम्पनसहित) पनि ज्वरो आउन सक्छ ।
– अत्यधिक टाउको दुख्नु र पसिना आउनु ।
– आँखा रातो हुनु र झाडापखाला लाग्नु ।
किरा (माइट) ले टोकेको ठाउँमा सुरुमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि बिस्तारै त्यो ठाउँमा कालो दाग बस्छ, जुन यो रोगको मुख्य पहिचान हो ।
रोगबाट बच्ने उपायहरू
१. खेतबारीमा काम गर्दा, वनजंगल वा झाडीमा जाँदा, अथवा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र सम्भव भएसम्म गम्बुट (बुट) को प्रयोग गर्ने ।
२. सकेसम्म घाँसघारी वा चउरमा सिधै नबस्ने । बस्नै परेमा गुन्द्री, दरी वा प्लास्टिक ओछ्याएर मात्र बस्ने ।
३. ओछ्यान भुइँमा नलगाई खाट वा अलि अग्लो स्थानमा सुत्ने र बस्ने व्यवस्था मिलाउने ।
४. चउर, बारी तथा घर वरपरका झाडी, घाँस र घुरानहरूलाई नियमित रूपमा सफा गरिरहने ।
५. घरमा मुसाको वृद्धि विकास हुन नदिन अन्नबालीलाई सुरक्षित रूपमा भण्डारण गर्ने र मुसा नियन्त्रणका उपायहरू अपनाउने ।
शंका लागेमा के गर्ने ?
स्वास्थ्य विज्ञहरूका अनुसार स्क्रब टाइफसको समयमै उपचार भएमा यो रोग पूर्ण रूपमा निको हुन्छ । यदि माथि उल्लेखित कुनै पनि लक्षण देखिएमा वा स्क्रब टाइफस लागेको शंका लागेमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्नुपर्दछ । लापरवाही गरेमा यसले गम्भीर रूप लिन सक्ने भएकाले समयमै उपचार गराउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।