काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय शक्ति भएको दलले क्षणिक लाभ–हानिको आधारमा निर्णय गर्न नहुने बताएका छन्।
प्रजातान्त्रिक विचार समाजको ३१औँ स्थापना दिवसका अवसरमा आयोजित “समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका” विषयक छलफल कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस निर्वाचनको परिणामले मात्र राष्ट्रिय शक्ति हुने नभई निरन्तर राष्ट्रिय राजनीतिमा दिशा दिने क्षमता राख्नुपर्ने बताए। थापाले कांग्रेस चुनाव जिते पनि, हारे पनि वा चुनावमा सहभागी नभए पनि राष्ट्रिय शक्ति नै रहने उल्लेख गर्दै पार्टीले समाचार वा हेडलाइन पछ्याउने होइन, देशको दीर्घकालीन दिशा तय गर्ने जिम्मेवारी लिनुपर्ने धारणा राखे। उनका अनुसार सरकारसँग शक्ति भए पनि संविधानले त्यसको सीमा निर्धारण गरेको छ।
कानुन बनाउने अधिकार भए पनि त्यसको उद्देश्य र दायरा संविधानले नै तय गर्ने उनले स्पष्ट पारे। थापाले कांग्रेसलाई समाजमुखी बनाउँदै पार्टीलाई संगठनभित्र मात्र सीमित नराख्ने बताउँदै समाजसेवामा केन्द्रित गर्नुपर्नेमा जोड दिए। उनले पार्टीभित्र सक्रिय भूमिकामा नरहेका नेताहरूलाई पनि उचित जिम्मेवारी दिएर समेट्नुपर्ने आवश्यकता औँल्याए। यसैगरी उनले योग्य नेतालाई वरिष्ठ जिम्मेवारी दिँदै सबैलाई साथमा लिएर अघि बढ्ने आफ्नो प्रस्ताव रहेको बताए। उक्त कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले वैचारिक स्पष्टता कायम राख्दै अन्य दलभन्दा फरक पहिचान बनाउनुपर्ने बताए। उनले कांग्रेसलाई शान्तिपूर्ण परिवर्तनको पक्षमा उभिनुपर्ने उल्लेख गर्दै विचार नै पार्टीको प्रमुख आधार भएको धारणा राखे।