काठमाडौँ । विश्व सडक सुरक्षा सप्ताह–२०२६ को अवसर पारेर काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार बिहान उपत्यकामा विशेष प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ। सडक सुरक्षा सप्ताहको समापनका अवसरमा आयोजित उक्त कार्यक्रममा सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना र सडक अनुशासनबारे जनचेतना जगाउने उद्देश्यले सरोकारवालाहरूको ठुलो सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले सडक सुरक्षा भनेको केवल ट्राफिक नियम पालना गर्ने विषय मात्र नभएर मानव जीवन संरक्षणसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएको बताए । नेपालमा सडक सञ्जाल विस्तारसँगै सवारीसाधनको संख्या तीव्र रूपमा बढिरहेकाले सडक अनुशासनमा अझ बढी ध्यान दिनुपर्नेमा जोड दिँदै उनले वर्षायाममा सडकमा देखिने बाढी–पहिरो जस्ता प्राकृतिक समस्या समाधान गर्न राज्यले योजनाबद्ध रूपमा काम अगाडि बढाइरहेको जानकारी दिए ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले सडक दुर्घटना न्यूनीकरणको विषयलाई महासंघले सधैँ प्राथमिकतामा राखेर काम गरिरहेको बताए । कतिपय दुर्घटनाहरू चालकको लापरबाहीले मात्र नभएर सडकको जीर्ण अवस्था र त्रुटिपूर्ण इन्जिनियरिङका कारण पनि हुने भएकाले सरकारले सडक निर्माण र मर्मत गर्दा सुरक्षा मापदण्डमा विशेष ध्यान दिनुपर्ने उनले बताए । यस्तै, नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमाकान्त चतुर्वेदीले नेपालमा प्रत्येक वर्ष औसतमा २ हजार ८ सयदेखि ३ हजार जनासम्मको सडक दुर्घटनामा परी मृत्यु हुने गरेको भयावह तथ्याङ्क प्रस्तुत गर्नुभयो। एआईजी चतुर्वेदीले यो अकाल मृत्युलाई रोक्न प्रहरीको प्रयासले मात्र सम्भव नहुने भन्दै चालक, पैदलयात्रु, यातायात व्यवसायी र राज्यका सबै सरोकारवाला निकाय उत्तिकै जिम्मेवार र गम्भीर हुनुपर्नेमा जोड दिए ।
समापन कार्यक्रममा विशेष गरी दुई पाङ्ग्रे सवारी चालकले हेल्मेटको र चार पाङ्ग्रेमा सिटबेल्टको अनिवार्य प्रयोग गर्ने, मादक पदार्थ सेवन (मापेसे) गरेर सवारी साधन नलगाउने, तीव्र गति (ओभरस्पिड) नियन्त्रण गर्ने, ट्राफिक सङ्केतको पूर्ण पालना गर्ने तथा पैदलयात्रुको सुरक्षालाई प्राथमिकता दिने जस्ता विषयमा व्यापक सचेतना फैलाइएको थियो। उपत्यकाका साँघुरा सडक, अव्यवस्थित पार्किङ र सडक नियमको उल्लङ्घनका कारण दैनिक दुर्घटनाको जोखिम बढिरहेको वर्तमान अवस्थामा आयोजित यस विश्व सडक सुरक्षा सप्ताहले सडक प्रयोगकर्ताहरूमा सकारात्मक व्यवहार परिवर्तन ल्याउने र दुर्घटना न्यूनीकरणमा प्रभावकारी भूमिका खेल्ने विश्वास काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लिएको छ।

