काठमाडौँ । गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष रविन बज्राचार्यले गैरआवासीय नेपालीलाई नेपालको सेयर बजारमा लगानी गर्न सहज वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्।
आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले विदेशमा रहेका नेपालीहरूको सानो–सानो लगानीले पनि नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुग्न सक्ने बताए। उनले विश्वभर रहेका नेपालीहरूले थोरै रकम मात्रै लगानी गरे पनि त्यसबाट खर्बौं रुपैयाँ बराबरको पूँजी नेपाल भित्रिन सक्ने उल्लेख गर्दै सरकारले सेयर बजार खुला गर्नुपर्ने धारणा राखे। बज्राचार्यले नेपालको सेयर बजार सीमित समूहको प्रभावमा रहेको दाबी गर्दै बाहिरबाट लगानी भित्रिए अर्थतन्त्र विस्तार हुने बताए। त्यस्तै, सरकारले ल्याएको प्रारम्भिक मस्यौदाप्रति पनि उनले असन्तुष्टि जनाए। एउटा मात्रै घर राख्न पाइने तथा पुख्र्यौली सम्पत्ति बिक्री गर्दा आधा कर तिर्नुपर्ने प्रावधानले गैरआवासीय नेपालीमा सरकारप्रति शंका बढाएको उनको भनाइ थियो।