काठमाडौँ। विश्व स्वास्थ्य संगठनले प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा फैलिएको इबोला संक्रमणलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेको छ।
डब्लुएचओका अनुसार डीआर कंगोको इतुरी प्रान्तमा हालसम्म २४६ भन्दा बढी शंकास्पद संक्रमित फेला परेका छन् भने ८० जनाको मृत्यु भइसकेको छ। यसपटक फैलिएको संक्रमण ‘बुन्डिबुग्यो’ भाइरसका कारण भएको जनाइएको छ, जसका लागि हालसम्म प्रभावकारी खोप वा औषधि उपलब्ध छैन। संक्रमण बुनिया, मोंगवालु र र्वामपारा क्षेत्रमा फैलिएको छ भने राजधानी किन्सासामा पनि एक संक्रमित पुष्टि भएको छ। छिमेकी देश युगान्डामा समेत दुई जनामा संक्रमण देखिएको डब्लुएचओले जनाएको छ।
डब्लुएचओले उच्च जनआवागमन, असुरक्षित स्वास्थ्य अवस्था र क्षेत्रीय अस्थिरताका कारण संक्रमण थप फैलिन सक्ने जोखिम रहेको चेतावनी दिएको छ। संक्रमण रोकथामका लागि संक्रमितलाई तत्काल अलग राखेर उपचार गर्न तथा निगरानी बढाउन सम्बन्धित देशहरूलाई आग्रह गरिएको छ। इबोला भाइरस संक्रमित व्यक्तिको शारीरिक तरल पदार्थको सम्पर्कबाट फैलिने गर्छ। ज्वरो, थकान, टाउको दुख्ने, बान्ता, पखाला र रक्तस्राव यसका प्रमुख लक्षण हुन्। डब्लुएचओका अनुसार इबोलाको औसत मृत्युदर करिब ५० प्रतिशतसम्म रहने गरेको छ।