काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरास्थित फिस्टेल डेरी प्रा.लि. द्वारा उत्पादित ‘नोभा’ ब्रान्डको आइसक्रिम मानव उपभोगका लागि अयोग्य फेला परेको जनाएको छ। परीक्षणमा हानिकारक ब्याक्टेरिया भेटिएपछि उक्त उत्पादन बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिइएको हो।
विभागले बजार अनुगमनका क्रममा संकलन गरिएको नमुनाको प्रयोगशाला परीक्षण गर्दा टोटल ब्याक्टेरिया काउन्ट, कोलिफर्म काउन्ट र एन्टेरोब्याक्टेरियासी जस्ता हानिकारक सूक्ष्मजीवहरूको उपस्थिति पाइएको बताएको छ। यस्ता ब्याक्टेरियाको अत्यधिक मात्रा मानव स्वास्थ्यका लागि जोखिमपूर्ण मानिन्छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार विभागले १ हजार मिलिलिटर परिमाणको, उत्पादन मिति २०८२ श्रावन १९ भएको नोभा आइसक्रिमको उक्त ब्याच बिक्री–वितरण नगर्न र बजारबाट तुरुन्त फिर्ता गर्न आदेश दिएको छ। त्यसैगरी सम्बन्धित उत्पादक तथा विक्रेताहरूलाई उक्त उत्पादनको बिक्री वितरण रोक्न कडा निर्देशन दिइएको छ। आदेश उल्लंघन गरी बिक्री गरेको पाइएमा कानुनी कारबाही गरिने विभागले स्पष्ट पारेको छ।