काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा औद्योगिक क्षेत्रमा सञ्चालित फिस्टेल डेरी प्रा. लि. द्वारा उत्पादित ‘नोभा ब्रान्ड’ को आइसक्रिम मानव स्वास्थ्यका लागि हानिकारक र उपभोगका लागि अयोग्य फेला पारेको छ। बजार अनुगमनका क्रममा संकलन गरिएको उक्त आइसक्रिमको नमुना प्रयोगशालामा परीक्षण गर्दा मापदण्ड विपरीत पाइएपछि विभागले उक्त खाद्य पदार्थ तत्काल बजारबाट फिर्ता (रिकल) गर्न निर्देशन दिएको हो। प्रयोगशाला रिपोर्ट अनुसार आइसक्रिममा टोटल ब्याक्टेरिया काउन्ट, कोलिफर्म काउन्ट र एन्टेरोब्याक्टेरियासी काउन्ट जस्ता घातक जीवाणुहरू अत्यधिक मात्रामा भेटिएका छन्, जसले मानव स्वास्थ्यमा गम्भीर असर पु¥याउन सक्छन्।
नयाँ कानुनी व्यवस्था अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) को प्रावधान बमोजिम विभागले फिस्टेल डेरीबाट उत्पादित १००० मि.लि. परिमाणको नोभा ब्रान्डको आइसक्रिम बजारबाट तत्काल हटाउन आदेश जारी गरेको हो। विशेष गरी उत्पादन मिति २०८२÷०४÷१९ (उपभोग्य अवधि १२ महिना) उल्लेख भएको ब्याचको आइसक्रिममा यो कैफियत भेटिएको विभागले स्पष्ट पारेको छ। विभागका महानिर्देशकको निर्देशन र सोही ऐनको उपदफा (४) बमोजिम उक्त ब्याचको आइसक्रिमको बिक्री वितरणमा पूर्ण रोक लगाउँदै सम्बन्धित उत्पादक तथा विक्रेताहरूलाई सचेत गराइएको छ।
वरिष्ठ खाद्य अनुसन्धान अधिकृतद्वारा जारी गरिएको यस कडा आदेशमा उक्त हानिकारक खाद्य पदार्थ लुकिछिपी बिक्री वितरण गरेको पाइएमा कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ। विभागले उपभोक्ताहरूलाई पनि उक्त मितिको नोभा ब्रान्डको आइसक्रिम खरिद वा उपभोग नगर्न र बजारमा फेला परेमा तुरुन्त जानकारी गराउन अपील गरेको छ। पछिल्लो समय खाद्य बजारमा गुणस्तरहीन र प्रदुषित दुग्धजन्य पदार्थको बिगबिगी बढेको जनगुनासो आइरहेका बेला विभागले अनुगमन र कारबाही प्रक्रियालाई तीव्रता दिएको हो।
