पोखरा । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ठुलो परिमाणमा अवैध चिनियाँ इलेक्ट्रिक चुरोट (भेप) र अन्य विभिन्न सामग्रीसहित दुईवटा कन्टेनर नियन्त्रणमा लिइएको छ। चीनसँगको कोरोला नाका हुँदै अवैध रूपमा सामान भित्र्याएर काठमाडौंतर्फ लैजाँदै गरेको अवस्थामा सुरक्षा निकाय र भन्सारको संयुक्त टोलीले ती सामग्री बरामद गरेको हो। अवैध तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई समेत नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) नेचुङ, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले विशेष चेकिङका क्रममा ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरको कन्टेनरलाई रोकेर खानतलासी गरेको थियो। जाँचका क्रममा कन्टेनरभित्र लुकाईछिपाई राखिएको ५९० कार्टुन चिनियाँ भेप, विभिन्न नाम चलेका कम्पनीका २५९ कार्टुन जुत्ता, ८ बोरा मोजा, १५ बोरा लत्ताकपडा र सामान प्याक गर्न प्रयोग गरिने १५ केजी खाली कार्टुन बक्स फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
अवैध सामान ओसारपसारमा संलग्न रहेको आरोपमा कन्टेनर चालक तथा सहयोगीहरू धादिङको धुनीबेशी नगरपालिका–१ का ३१ वर्षीय सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ का फुन्चुदोर्जे तामाङ र सोही ठाउँका पासाङ शेर्पालाई पक्राउ गरिएको छ। बरामद गरिएका करोडौँ मूल्य बराबरका सामग्रीहरू आवश्यक कानुनी कारबाहीका लागि मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ भने पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि नेपाल प्रहरीको हिरासतमा राखिएको छ। कोरोला नाका व्यावसायिक रूपमा सञ्चालनमा आएपछि यसरी ठुलो परिमाणमा अवैध तस्करीको सामान समातिएको यो पहिलो ठुलो घटना हो।