काठमाडौँ । केपी शर्मा ओलीले जननेता मदन भण्डारी र जीवराज आश्रितको ३३औँ स्मृति दिवसका अवसरमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै दासढुंगाको रहस्यमय घटनाले राष्ट्रले असाधारण दुई व्यक्तित्व गुमाएको बताएका छन्।
अध्यक्ष ओलीले समय बित्दै जाँदा घाउ पुराना भए पनि सम्झनाहरू अझ गहिरिँदै गएको उल्लेख गर्दै मदन भण्डारी आफ्नो नेता, साथी र सहयोद्धा भएको स्मरण गरेका छन्। उनले जीवराज आश्रितलाई कुशल संगठक तथा आन्दोलनका समर्पित योद्धाका रूपमा चित्रित गरेका छन्। ओलीका अनुसार मदन भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ वैचारिक दिशा दिने “जनताको बहुदलीय जनवाद” का प्रमुख अभियन्ता थिए। उक्त विचारले नेपाली राजनीतिमा मौलिकता थप्दै परिवर्तनको आकाङ्क्षालाई जनताको जीवनसँग जोड्ने मार्ग प्रशस्त गरेको उनको भनाइ छ।
उनले “समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकाङ्क्षालाई पनि जनताको बहुदलीय जनवादकै निरन्तर अभियानका रूपमा अघि बढाइएको उल्लेख गरेका छन्। पछिल्ला वर्षहरूमा देशमा मानवीय विकास, पूर्वाधार निर्माण तथा परिवर्तनका विभिन्न आयामहरूमा सकारात्मक प्रभाव देखिन थालेको उनको दाबी छ। अध्यक्ष ओलीले मदन भण्डारी, जीवराज आश्रित तथा आन्दोलनका अन्य अग्रजहरू आज शारीरिक रूपमा साथमा नभए पनि उनीहरूको विचार, योगदान र संघर्ष राजनीतिक यात्राका मार्गदर्शक दीपस्तम्भका रूपमा जीवित रहेको बताएका छन्। उनले जनताको बहुदलीय जनवाद क्षणिक लोकप्रियताको साधन नभई यथार्थमा आधारित, समयअनुकूल र नेपाली समाजको आवश्यकता अनुरूप विकसित विचारधारा भएको उल्लेख गरेका छन्।