काठमाडौँ । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई हिरासतमुक्त गर्न आदेश दिएको छ। पाण्डेकी श्रीमती नीरु दाहाल पाण्डेले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि शुक्रबार सुनुवाइ गर्दै अदालतले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पाण्डेलाई गत मंगलबार सिन्धुलीबाट नियन्त्रणमा लिएको थियो। ‘स्मार्ट टेलिकम’ को अनुमतिपत्र (लाइसेन्स) खारेज भई सम्पत्ति सरकारी नियन्त्रणमा रहने कानुनी व्यवस्था हुँदाहुँदै बैंकले गैरकानुनी रूपमा धितो सकारेर लिलाम प्रक्रिया अघि बढाएको आरोपमा उनीमाथि अनुसन्धान सुरु गरिएको थियो।
सर्वोच्चको यो आदेशसँगै पाण्डेलाई हिरासत बाहिरै राखेर अनुसन्धान प्रक्रिया अघि बढाउने बाटो खुलेको छ। यसअघि पाण्डेलाई पक्राउ परेलकै दिन बैंकले स्वतः निलम्बन गरेको थियो। यो मुद्दालाई नेपालको बैंकिङ स्वायत्तता र सरकारी नियामक निकायबीचको क्षेत्राधिकार विवादको एक महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।