काठमाडौं । दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले इन्धन बचत र आर्थिक मितव्ययीतालाई लक्षित गर्दै हप्तामा दुई दिन घरबाटै काम गर्ने व्यवस्था लागू गर्ने घोषणा गरेकी छन्।
दिल्ली सरकारले सार्वजनिक कार्यालयमा ‘वर्क फ्रम होम’ प्रणाली लागू गर्ने निर्णय गर्दै निजी कम्पनीहरूलाई पनि त्यही मोडल अपनाउन आग्रह गरेको हो। निर्णयअनुसार अब सरकारी कार्यालयका ५० प्रतिशत बैठक अनलाइन माध्यमबाट सञ्चालन गरिनेछ।
मुख्यमन्त्री गुप्ताले केन्द्र सरकार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इन्धन बचतका लागि वैकल्पिक उपाय अपनाउन दिएको निर्देशनअनुसार यो कदम चालिएको बताइन्।
उनले भनिन्, 'सरकारले इन्धन बचतका लागि हप्तामा दुई दिन घरबाट सेवा दिने निर्णय गरेको छ। यो कार्यक्रम सरकारी र निजी दुवै क्षेत्रमा लागू गरिनेछ। यसको नियमन र अनुगमन श्रम विभागले गर्नेछ।'
सरकारले धेरै कर्मचारी रहेका निजी कम्पनीहरूलाई पनि आफ्नो अनुकूलताअनुसार कर्मचारीलाई हप्तामा दुई दिन घरबाट काम गर्ने वातावरण बनाउन आग्रह गरेको छ।
इन्धन बचत र खर्च कटौतीका लागि मन्त्री तथा विधायकहरूको अनावश्यक विदेश भ्रमण स्थगित गरिएको छ भने आगामी तीन महिनासम्म ठूला सार्वजनिक कार्यक्रम नगर्ने निर्णय पनि गरिएको छ।
ऊर्जा संरक्षण र स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि बजार तथा मलहरूमा ‘मेड इन इन्डिया’ उत्पादनलाई प्राथमिकता दिन निर्देशन दिइएको छ।
मुख्यमन्त्री गुप्ताले विद्युतीय सवारी नीति तयार भइसकेको र छिट्टै कार्यान्वयनमा ल्याइने जानकारी पनि दिइन् ।