काठमाडौं । नेपाली फिल्म क्षेत्रमा नयाँ इतिहास रचेको ‘पूर्णबहादुरको सारंगी’ का मुख्य कलाकार र निर्देशकको अर्को बहुप्रतिक्षित सहकार्य फिल्म ‘सिन्दुरे जात्रा’ को छायांकन सुरु भएको छ। शुक्रबार पर्वतको रमणीय आर्थर डाँडाखर्कमा शुभमुहूर्त गर्दै निर्माण पक्षले फिल्मको छायांकन थालनी गरेको हो। सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको यस फिल्मको शुभसाइत पूजामा मुख्य कलाकारहरू विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने लगायतको उपस्थिति रहेको थियो।
फिल्मको निर्देशन सरोज पौडेलले गर्नेछन्, जसले यसअघि ’पूर्णबहादुरको सारंगी’ मार्फत आफूलाई सफल निर्देशकका रूपमा स्थापित गरिसकेका छन् । निर्देशक पौडेलका अनुसार फिल्मको छायांकन तालिका एक महिनाको राखिएको छ र सम्पूर्ण छायांकन पर्वत वरपरकै क्षेत्रमा गरिनेछ। ‘पूर्णबहादुरको सारंगी’ मा बाबुको भूमिकामा विजय र आमाको भूमिकामा अञ्जनाको अभिनयलाई दर्शकले निकै रुचाएका थिए, त्यसैले यो हिट जोडीको नयाँ फिल्मलाई लिएर दर्शकमा ठुलो उत्साह देखिएको छ।
आरआर फिल्म्सले वितरण गर्ने यस फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। मौलिक कथावस्तु र स्थानीय परिवेशलाई समेट्न खोजिएको ‘सिन्दुरे जात्रा’ ले नेपाली फिल्मको हालको व्यावसायिक सफलताको लयलाई निरन्तरता दिने विश्वास गरिएको छ।