धनगढी । निर्माण क्षेत्रका विद्यमान समस्या समाधानमा सरकार गम्भीर नभएको भन्दै सुदूरपश्चिमका निर्माण व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। नेपाल निर्माण व्यवसायी महासंघको देशव्यापी आन्दोलनको घोषणा अनुरूप सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघले शुक्रबार धनगढीमा विरोध प्रदर्शन र धर्ना गरेका हुन । मध्यपूर्वमा जारी युद्धका कारण इन्धन, निर्माण सामग्री, ढुवानी र श्रमिकको लागतमा भएको अप्रत्याशित मूल्यवृद्धिले निर्माण क्षेत्र धराशायी भएको भन्दै व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
आन्दोलनअन्तर्गत प्रदेश अध्यक्ष लक्ष्मण बहादुर स्वारको नेतृत्वमा निर्माण व्यवसायीहरूले शुक्रबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना दिँदै ज्ञापनपत्र बुझाएका छन्। कार्यक्रममा निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष दीर्घराज जोशी लगायत ठुलो संख्यामा व्यवसायीहरूको उपस्थिति रहेको थियो। व्यवसायीहरूले धनगढी बजारमा नाराजुलुससहित परिक्रमा गरी सरकारलाई आफ्ना मागहरू तत्काल सम्बोधन गर्न माग गरेका छन्।
प्रदेश अध्यक्ष स्वारका अनुसार अन्तर्राष्ट्रिय परिस्थितिका कारण निर्माण सामग्री र इन्धनको मूल्यमा भएको निरन्तर वृद्धिले पुराना सम्झौताका आधारमा काम अघि बढाउन असम्भव भएको छ। “निर्माण सामग्री, ढुवानी र श्रमिक लागतमा भएको अत्यधिक वृद्धिका कारण निर्माण व्यवसाय संकटमा परेको छ,“ स्वारले बताए, “हाम्रा जायज मागप्रति सरकारले तत्काल ध्यान नदिए आन्दोलनलाई थप सशक्त बनाउन बाध्य हुनेछौँ।“ देशभरका निर्माण व्यवसायीहरूले बिहीबारदेखि नै विभिन्न सरकारी निकायमा धर्ना र ज्ञापनपत्र बुझाउने कार्यक्रमलाई निरन्तरता दिइरहेका छन्