काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको हालको काम, प्रगति समीक्षा तथा आगामी योजनाबारे छलफल गरिएको छ ।
बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले किसानका समस्या आफूले नजिकबाट बुझेको भन्दै सरकारको मुख्य ध्यान अहिले मल व्यवस्थापनमा केन्द्रित रहेको बताइन् । उनले मलको विकल्प खोज्नुपर्ने आवश्यकता पनि औंल्याइन् । मन्त्री चौधरीका अनुसार सरकारले रासायनिक मलमा खर्च भइरहेको ठूलो बजेटलाई अन्य कृषि विकास तथा किसानको उत्पादन र बजार व्यवस्थापनमा प्रयोग गर्न सकिने सम्भावना रहेको छ । बैठकमा सांसद आशिका तामाङले किसानको पीडा अझै कायम रहेको उल्लेख गर्दै कृषि क्षेत्रमा बीमा र क्षतिपूर्तिको व्यवस्था आवश्यक रहेको बताइन् ।समिति सभापति अशोक कुमार चौधरीले पनि मल आपूर्तिलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरे ।